काठमाण्डौँ, 28 अप्रेल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ। कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो। कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो। कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरुको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो।
अहिले सरकारले उपलब्ध गराएको राहत, त्यसको व्यवहारिकताका विषयमा पनि छलफल भएको छ। यस्तै प्रतिपक्षी दलले राहत वितरणमा कसरी सहजिकरण गर्न सक्छ र सरकार कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो। कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ। पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरुसँग छलफल गरेको थियो। बुधबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।









































