कञ्चनपुर, 21 मार्च 2020
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस् भनेर कञ्चनपुरको शिवधाममा यज्ञ गरिएको छ। नेपालमा कोरोनाको संक्रमण नहोस् भनेर शिवधाम क्षेत्र विकास समिति र अन्य धार्मीक संघ-संस्थाले पशुपतिनाथको श्रीविग्रहमा महारूद्राभिषेक तथा महापुजाको आयोजना गरेको शिवधाम विकास समितिका अध्यक्ष हेमविक्रम थापाले बताउनुभयो। विश्वमा कोरोना भाइसरको त्रास फैलिएको बताउँदै उहाँले देशमा सुख शान्ती र मानवीयक्षति नहोस् भनेर पशुपतिनाथको रूद्राभिषेकको महापुजा आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले नेपालमा कोरोना भाइसरको संक्रमण नहुने बताउनुभयो। सबैले आ–आफ्नो क्षेत्रमा भगवानको पुजा गरे देशमा कुनै पनि संकट नआउने उहाँको भनाई थियो।
त्यस्तै गुरुभूमि फाउन्डेशनका अध्यक्ष सुशील पाण्डेले विकसित मुलुकमा जस्तो नेपालमा उपचारका लागि व्यवस्था नभएको बताउनुभयो। उहाँले कोरोना संक्रमणबाट मानवीय क्षति नहोस् भनेर पशुपतिनाथलाई सम्झिएको बताउनुभयो। उहाँले सरकारले दिएको निर्देशन र डक्टरको सुझावअनुसार सर्तकता अपनाउनुका साथै धार्मीक आस्थाका र मानवजातिको कल्याणको लागि महापुजाको आयोजना गरिएका बताउनुभयो।
शिवधाम क्षेत्र विकास समितिले 25 जनाभन्दा बढी भीडभाड हुन नदिन आलोपाले गरी महापूजामा सरिक हुने व्यवस्था मिलाएको थियो।









































