नयाँ दिल्ली, 3 फरवरी 2020
चीनबाट फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या 361 पुगेको छ। विश्वभरी 17 हजारभन्दा बढी मानिसहरूमा यसको संक्रमण देखा परेको छ। कैयौँ देशहरूले आफ्ना नागरिकलाई अत्यावश्यक कामबाहेक चीनको यात्रा नगर्न परामर्श दिएका छन्। कतिपय देशहरूले चीनको लागि उडान समेत रद्द गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको संक्रमण अत्याधित बढेपछि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरेको छ। चीनमा कोरोना भाईरसका कारण अहिलेसम्म 361 जनाको ज्यान गएको छ, यो संख्या सन् 2003-4 ताका बेइजिङमा सार्स भाईरसका कारण मृत्यु हुनेहरूको संख्याभन्दा धेरै हो।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाईरस फैलिएको हो। आईतबार मात्र हुबेई प्रान्तमा 56 मानिसहरूको मृत्यु भएको छ भने, 5 हजार 173 नयाँ संक्रमितहरू भेटिएका छन्। जसमध्ये 186 जनाको स्वास्थ अवस्था चिन्ताजनक छ। यद्यपि 187 जनालाई भने अस्पतालले छुट्टी दिएको छ।
यसै बीच कोरोना भाईरसको उपचारका लागि चीनले 10 दिनमा 1000 सैयाको अस्पताल तयार गरेको छ। आगामि दुइ दिनमा यस अस्पतालमा उपचार सुरू हुनेछ।









































