कैलाली, 9 मार्च 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोविड-19) बाट जोगिन पूर्व तयारीलाई बलियो बनाउने निर्णय गरेको छ। अहिलेसम्म नेपालमा कोरोना भाईरसको संक्रमण नदेखिएपनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय सुदूरपश्चिम प्रदेश सरकारले गरेको हो। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आईसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरको छ। जिल्लाका सिमानाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकमा गरिएको छ।
त्यसैगरी सबै जिल्लामा एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने र विशेष परिस्थितिमा औषधीलगायत अन्य आवश्यक सामग्री खरिद गर्नसक्ने व्यवस्थासमेत गरिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य निर्देशकलगायतले बैठकमा कोविड-19 को जोखिम र सावधानीका उपायहरू बारे समीक्षा गरेको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो।
औषधीलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयद्वारा नियमित अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ।









































