चीन, १९ फरवरी, २०२०
चीनको वुहान शहरमा कोरोना भाईरसका कारण चिनियाँ फिल्म निर्देशक छाङ काइकी पत्नीबाहेक परिवारका सबै सदस्यको मृत्यु भएको छ ।
कोरोनाको हाइ–प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो । उनीहरू भाइरसको एपिसेन्टर वुहान सहरमा घरभित्रै क्वारेन्टाइन अवस्थामा थिए ।
५५ वर्षीय काइको १४ फेब्रुअरीका दिन मृत्यु भएको चिनियाँ म्यागजिन केइसिनले रिपोर्ट गरेको छ । उनका आमाबुवाको भने दुई साता अगाडि मृत्यु भएको थियो । त्यस्तै बहिनीको काइको मृत्युको केही घण्टापछि भएको बताइएको छ । हाल उनकी श्रमती पनि गम्भीर अवस्थामा छन् । उनका एक मात्र छोरा भने लन्डनमा रहेको बताइएको छ ।
वुहान र आसपासका क्षेत्रमा मृत्युको दर बढी रहेको पाइएको छ । त्यहाँका धेरै बिरामीले अस्पतालमा बेड पाउन कठिन भएको गुनासो गर्दै आइरहेका छन् । सरकारले नयाँ भवन निर्माण गरे तापनि बिरामीको सङ्ख्या क्षमताभन्दा बढी पुगेकाले पनि यस्तो भएको हो ।
कतिपय बिरामी भने इन्टेस्भि केयरमा रहँदारहँदै पनि मृत्यु भएको छ जसमा पहिलोपटक कोरोनाबारे खबर गर्ने डाक्टर पनि पर्छन् । त्यस्तै एक वातावरण कार्यकर्ता र उनकी पत्नीको पनि कोरोनाका कारण मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको हुँदा रोग पुष्टि हुन नसकेको बताइएको छ । मंगलबार नै वुहानको अस्पतालकै निर्देशकको मृत्युको खबर पनि बाहिर आएको थियो ।









































