काठमाण्डौँ, 17 मार्च 2020
कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्। मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताउनुभयो।
सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताउनुभयो। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उहाँले सावधानी अपनाउनुपर्ने बताउनुभयो। अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उहाँले संसद पनि २, ४ दिनभन्दा बढी नचल्ने बताउनुभयो।
सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताउनुभयो। संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उहाँले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताउनुभयो।
सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताउनुभयो। नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो।
विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।









































