दार्जीलिङ, 11 मार्च/ कयेश अन्सारी
कोरोना भाईरस प्रकोपका कारण पूरै विश्व यसको चपेटामा परेका बेला यसको रोकथामको प्रयासहरू पनि भइरहेका छन्। दार्जीलिङ पहाडमा पनि कोरोना प्रकोपको रोकथामका लागि कैयौँ उपायहरू अपनाइदैछ। यसै सन्दर्भमा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले एक समीक्षा बैठकको आयोजना गरी भोलीदेखि दार्जीलिङमा 15 हजार मास्क वितरण गर्ने निर्णय गरेको छ।
पर्यटनले धानेको दार्जीलिङ पहाडमा बाह्य पर्यटकहरूको सोझै सम्पर्कमा आउने गाडी चालकहरू, होटलका स्टाफहरू र पहाडका मानिसहरूलाई मास्क वितरण गर्ने जीटीए-को योजना छ। यसका साथै जीटीए-ले दार्जीलिङ पस्ने थप प्रवेशद्वारहरूमा स्क्रिनिङको व्यवस्था बढाउने निर्णय पनि गरेको छ। यसका साथै कोरोना भाईरस सम्बन्धी अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै जीटीए-ले सामाजिक सञ्जालका माध्यमबाट हल्ला फैलाउनेहरूलाई कारवाही गरिने जनाएको छ।
अर्कोतर्फ कोरोना भाईरसको संत्रासका कारण औषधी पसलहरूमा कालोबजारी हुने सम्भावना पनि त्यत्तिकै बढेको छ। यसैलाई ध्यानमा राख्दै पहाडका औषधी पसलहरूमा मास्क र सेनिटाइजरको सम्भावित कालोबजारीलाई रोक्न नियमित अनुगमन भइरहेको जीटीए-ले जनाएको छ।









































