बैतडी, 28 अप्रेल/ हिम शाह
सीमापारी रहेका नेपाली मजदुरहरुले 1 महिना भारतीय क्वारेन्टिनमा बस्दा समेत स्वदेश फर्कन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। शुरुमा दुई साता क्वारेन्टिनमा बसेर स्वदेश फर्कन पाउने भने पनि 1 महिना बस्दासमेत मातृभूमी फर्कन नपाउँदा आफूहरुलाई निकै समस्या भएको बैतडीको दोगडाकेदारका हरिश भट्टले बताउनुभयो। गाउँमा मकै छर्ने समय शुरु भईसकेको तर आफूहरु भारतीय क्वारेन्टिनमा बस्नु पर्दा खेतीको काममा बाधा पुगेको उहाँले दुखेसो पोख्नुभयो।
भारतीय क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य अवस्था राम्रो हुँदासमेत सरकारले स्वदेश फर्कन नदिएकोमा पुर्चौंडी नगरपालिका 3 का नरेन्द्र धामीले आक्रोश व्यक्त गर्नुभएको छ। कोरोनाको कुनै लक्षण नभएको अवस्थामा सरकारले सीमामै अलपत्र पार्नु नाजायज भएको उहाँले बताउनुभयो।
मजदुरीका लागि भारतको पिथौरागढलगायत क्षेत्रमा पुगेकाहरुले घर फर्कन नपाउँदा कमाएको पैसा समेत सकिएको उनिहरूले बताएका छन्। घर परिवारका लागि भनेर कमाएको पैसा समेत क्वारेन्टिनमै सकिएको पुर्चौंडी नगरपालिका 8 का विरेन्द्र पाठकले बताउनुभयो।
सीमामा रहेका नेपालीहरुलाई फर्काउनका लागि स्थानीय स्तरमा क्वारेन्टिन निर्माणको काम सकिए पनि स्वदेश ल्याउने विषयमा संघीय सरकारको निर्णय आवश्यक पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो। सीमामा रहेका नेपाली मजदुरहरुलाई स्वदेश ल्याउन केन्द्रको निर्णय पर्खिरहेको उहाँले बताउनुभयो। भारतको झुलाघाट र धारचुलामा गरेर बैतडीका मात्रै 9 सय मजदुर भारतीय क्वारेन्टिनमा बसिरहेका छन्।









































