चितवन, 23 सितम्बर 2021
चितवनको नारायणगढबाट खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामका लागि राखिएका महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ र होटलमा ग्राहक बनेर आएका राजेश चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महिलालाई राखी यौनधन्दामा संलग्न गराउने उक्त खाजा घरमा कार्य भइरहेको सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । होटल सञ्चालक तामाङ दम्पतीले अनुसन्धानको क्रममा तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै खुल्न आएको प्रहरीले जनाएका छन। घटनामा संलग्न पीडित महिलाको भने प्रहरीले उद्धार गरेको छ । जिल्ला अदालत चितवनबाट म्याद थप गरी पक्राउ परेका तीनै जना विरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































