लमजुङ, 31 अगस्त 2021
एक युवकको राइनास नगरपालिका-९ साततले नजिकै सग्रबासमा खुकुरी प्रहारबाट हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपीका अनुसार २४ वर्षीय सुरज थापाको खुकरी प्रहारबाट २२ वर्षीय सुदिन आलेमगरको मृत्यु भएको हो ।सोमबार राति साढे ८ बजेतिर उक्त घटना घटेको हुन सक्ने कार्कीले बताउनु भयो । भतरपुर चितवन लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी कार्कीले बताउनु भयो । उनका अनुसार घटनामा संलग्न थापालाई प्रहरीले मंगलबार मध्यान्ह पक्राउ गरेको छ ।घटनाबारे राति साढे ९ बजेतिर स्थानीयले थाहा पाएका थिए । राइनास नगरपालिका ९ का वडा सदस्य राजकुमार भुजेलका अनुसार खुकुरी प्रहार गरी गम्भीर घाइते भएका आलेमगरलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको शव चितवनमै राखिएको छ । प्रहरीका अनुसार टाउको र हातमा गम्भीर चोट लागेको थियो ।
‘सुदिन बेंसीमा आफन्तलाई भेटेर गाउँ फर्किंदै रहेछ । उनी फर्किने बाटोमा कुरिरहेका थापाले मोटरसाइकलमा हिँड्दै गरेका सुदिनलाई प्रहार गरेछन्’ डीएसपी कार्कीले भने, ‘घटना घटेको केही छिनपछि थाहा पाएर उद्धार गरी चितवन पठाएका थियौं । तर निधन भयो ।’
ट्याक्टर चलाउदै आएका थापाले खुकुरी प्रहार गरी हत्या गर्नुको कारण खुल्न नसकेको डीएसपी कार्कीले बताउनु भयो ।
‘हामी घटनास्थलमै छौं । अभियुक्तलाई पक्राउ गरिसकेका छौं । अब अनुसन्धान हुन्छ । त्यसपछि कारण खुल्ला । अहिले केही खुलेको छैन,’।









































