काठमाडौं, 10 अक्टूबर 2022
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।
तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उमेदवारी दर्ता भएका विषयमा पौडेलले उमेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे ।
“गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो । यस विषयमा विचार गरेर उमेदवारी फिर्ता लिनुस्,” पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका छन् । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारूढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उमेदवारी दर्ता गराएका छन् । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ ।









































