काठमाडौं, 7 अक्टूबर 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । गंगा दाहालले प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै गठबन्धन बनेको पनि दाबी गरेकी छन् ।
‘गठबन्धन कुनै राजनीतिक लाभहानीभन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो,’ दाहालले भनेकी छन्, ‘सत्ता या अरू लाभहानी खोज्न चाहना राखेको भए दुई/दुईपटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरूले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे । तर, लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरू जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं ।’
प्रतिगमनकारी, संघीय लोकतन्त्र विरोधी शक्तिहरू सिट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षड्यन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवासपना देखिरहेको पनि उनले उल्लेख गरेकी छन् ।‘अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरू सिट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षड्यन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् । तर, गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो,’ उनले भनेकी छन्, ‘केही असहमति हुनसक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पूरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।’









































