काठमाडौं, 16 दिसम्बर 2021
नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने स्पष्ट पार्नुभएको छ । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ नेता कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले गलत मान्छेलाई महामन्त्री बनाएछु भन्ने महशुस हुन नदिने र विश्वास डगमगाउन नदिने स्पष्ट पार्नुभएको हो । थापाले आफू पार्टी बलियो र देशप्रति थप जिम्मेवार बनाउन लागिपर्ने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टीमा निर्वाचित हुने सबै पदाधिकारीलाई बधाई दिनुभयो । उहाँले पार्टीभित्र लागेका घाउलाई निर्मुल पार्दै पार्टीलाई सबै मिलेर एकतावद्ध भएर अगाडि बढाउनुपर्ने बताउनु भयो ।उहाँले सबै मिलेर पार्टीलाई सफा र पवित्र बनाउनुपर्ने जिकिर गर्नुभयो।









































