नयाँ दिल्ली, 9 मई 2021
दिल्ली नजिक गाजियाबादमा आत्महत्या भएको अवस्थामा फेला परेका अर्घाखाँचीका 22 वर्षीय पुरन थापाको आज अन्तिम संस्कार गरिएको छ । कोभिड-19 महामारीको दोस्रो लहरका कारण घरबाट कोही आउन सक्ने अवस्था नभएपछि नेजस उत्तर भारतका उपाध्यक्ष राजु कुँवर, नेजस गाजियाबाद शाखा अध्यक्ष विष्णु खनाल र नेजस कविनगर शाखा अध्यक्ष कृष्ण शर्मासहित सचिन खनाल, प्रदिप, पुरन, नरेश लगायत कम्तिमा 22 जनाको समूहले अन्तिम संस्कार गरेका हुन । घटनाको जानकारी पाएपछि नेजसका कार्यकर्ताहरु घटनास्थल पुग्नुका साथै पुलिस प्रशासन र पोस्ट मार्टम हाउसमा पुगेर जानकारी लिइरहेका थिए ।
नेजस उत्तर भारतका उपाध्यक्ष राजु कुँवरका अनुसार शवको टाउकोमा चोट लागेको थियो । त्यसैले पोस्ट मार्टम गरिएपछि शवलाई अन्तिम संस्कार गर्न लिएर जाँदा शव निकै गन्हाइरहेको थियो । आफुहरुले हत्या भएको पुलिसहरुलाई भनेर छानविनका लागि दवाब दिइरहेको तर पुलिसले शवलाई झुण्डिएको अवस्थाबाट खस्दा चोट लागेको बताएको छ । यद्धपी पुलिसले आज शवको पोस्ट मार्टम गरेको र रिपोर्ट आएपछि घटना स्पष्ट हुने पुलिसले भनेको छ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर 11 का निम बहादुर थापाका छोरा पुरन थापाको शव शनिवार राति गाजियाबादको घुगना मोडस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनि घुगना मोडमा एक मदिरा पसलमा काम गर्दै आएका थिए । उनि सोही ठाँउमा परिवारका साथमा बस्ने गर्दथे भने झण्डै एक महिना अघि मात्रै श्रीमति र छोरा छोरीलाई नेपाल पुऱ्याएर आएका थिए । लकडाउनपछि उनि घरमै बसिरहेका थिए भने उनि घर जाने तयारी गरिरहेको उनका छिमेकी रणवीर मौर्याले बताएका छन ।
उनको निधनप्रति नेजस उत्तर भारतले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।









































