नयाँ दिल्ली, 11 जनवरी 2020/कयेश अंसारी
गोर्खा जनमुक्ति मोर्चाको एक शीर्ष प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग गोर्खाहरुको समस्या समाधानका विषयमा छलफल गरेको छ । शनिवार विहान गोर्खा जनमुक्ति मोर्चाको टोलीले राजधानी दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसंग भेट गर्दै भाजपाको “संकल्प पत्रमा” उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान र गोर्खा जाति भित्र छुटिएका जात-गोष्ठीलाई जनजातीको मान्यता दिने लगायतका विषयमा छलफल गरेको हो ।

गोर्खा जनमुक्ति मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरि बैठकमा भएका छलफलका एजेण्डा साझा गरेको हो । बैठकमा भाजपा सरकार गोर्खाहरुको समस्या समाधानमा लागी परेको र यस बिषयमा यथाशिघ्र ठोस पहल गर्ने अनि आउँदो फरवरी महिना भित्रमा गृहमन्त्री अमित शाहसँग राजनैतिक भेटवार्ता हुने आश्वासन दिइएको भनिएको छ ।
गोजमुमोका केन्द्रीय समिति सदस्य डा॰ आर॰बी॰ भुजेलको नेतृत्वमा रहेको टोलीमा केन्द्रीय समिति सदस्य पूर्व-कर्णेल रमेश आले, लिला कुमार गुरूङ्ग, गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रीय समितिका उपाध्यक्ष अनिल लोप्चन, केन्द्रीय कार्यकारी अध्यक्ष नोमन राई, तोप्देन भुटिया लगायत उपस्थित रहेका थिए ।









































