काठमाडौं, 12 अक्तूबर 2021
गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती पठाइएको छ । मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो । गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरु लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो । पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिंडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौं माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।









































