काठमाडौं, 15 जुलाई 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् । तीन दिने भारत भ्रमणका लागि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हु्न । ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने जनाए । भारत भ्रमणका क्रममा आफुले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए । ‘नेपाल भारत सम्बन्ध अझ राम्रो कसरी बनाउने भन्नेमा भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुनेछ’, प्रचण्डले भ्रमण आकस्मिक जस्तो देखिएपनि पूर्व निर्धारित नै भएको बताए । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । उनले विगतमा झै यसपाली पनि नेपालको समग्र विकास दुई पक्षीय व्यापार सन्तुलन, सीमा समस्या लगायतका विषयमा भारतीय पक्षसँग कुराकानी हुने प्रचण्डको भनाइ छ ।









































