काठमाण्डौँ, 1 फरवरी, 2020
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न 2 वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो।
पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षीत रहेको बताउनुभयो। चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा 190 जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि 2 वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो।
बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफुहरुलाई विश्वस्त बनाएको उहाँले बताउनुभयो। कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको दृष्टन्त दिनुभयो। नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षीत र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ।
विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताउनुभयो।









































