काठमाडौं, 26 अक्टूबर 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्बत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नागरिकप्रति प्रतिबद्ध भई काम गर्न सके देशको आर्थिक असमानता र विपन्नतालाई हटाउन सकिने बताए । प्रधानमन्त्री देउवाले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने, नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए ।









































