नयाँ दिल्ली, 9 फरवरी/ खुम गुरुङ
विरामी परेको छोरोको स्याहार गर्न भारत आएको एक दम्पत्ति अन्ततः छोरालाई खोज्दा-खोज्दै वियोगमा घर फर्किएको छ । हिमाचल प्रदेशको सोलनदेखि दिल्लीका विभिन्न स्थानसम्म पनि छोराको खोजी गरिए पनि अन्ततः खडानन्द तिमिल्सिना र कृष्णमाया तिमिल्सिना नेशनल लाईवको माध्यमबाट यहाँ सबैलाई छोरो कृष्ण तिमिल्सिनालाई खोजिदिन आग्रह गर्दै घर फर्किएका छन । सिन्धुपाल्चोकको किउल गाँउपालिका वडा नम्बर 4 का 23 वर्षीय कृष्ण तिमिल्सिना रोजगारीका लागि हिमाचल प्रदेशको सोलन पुगेका थिए ।

गत 17 जनवरीका दिन कृष्णले आफु विरामी भएको खबर घरमा दिएपछि बुवा खडानन्द र आमा कृष्णमाया सोलन पुगे । तर छोरा त्यहाँ नभएको पाएपछि उनिहरुले चौतर्फी खोजविन गरे तर कतै भेटाएनन । त्यही क्रममा उनिहरुले मनालीस्थित मूल प्रवाह अखिल भारल एकता समाजका अध्यक्ष साईला लामा, महासचिव तुलाराम बुढा, कार्यालय सचिव यङजी लामा र जयबहादुरको नेतृत्वमा खोजविन गर्दा कृष्ण दिल्ली पुगेको र गणतन्त्र दिवस समारोहका लागि सुरक्षा व्यवस्था कडाइ गरिएका बेला कागजपत्र साथमा नभेटाएपछि 18 जनवरीका दिन पुलिसले कृष्णलाई पक्राउ गरेको र 29 जनवरीमा छोडेको खुल्न आएको थियो । त्यसपछि कृष्णका आमा-बुवा छोरोलाई खोज्न भनि दिल्ली पुगेका थिए । तर दिल्लीमा कयौं दिनसम्म पनि फेला नपारेपछि उनिहरु नेशनल लाईव टीभीका संचारकर्मी खुम गरुङको सम्पर्कमा आएर छोरालाई खोजिदिन आग्रह गरेका छन। मोर्डन इरा टूर एण्ड ट्राभल्सले सो दम्पत्तिलाई निशुल्क रुपमा घर फर्काएको छ । त्यही गुरुङ समाज र मगर समाज दिल्लीले खान-पिउनका लागि आर्थिक सहायता प्रदान गरेको छ । दम्पत्तिले छोराको बारेमा केही जानकारी पाए नेपालको मोबाइल नम्बर 9823197848 मा फोन गरि सहयोग गर्न आग्रह गरेको छ ।









































