काठमाडौं, 7 सितंबर 2022
नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुअघि अर्थमन्त्री शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको बताएका हुन् । उनले कार्यक्रममा भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाएका थिए । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए । शर्मा गुरुङभन्दा पनि महासचिवका दह्रो दावेदार थिए । तर ४ भदौमा अध्यक्ष प्रचण्डले शर्मासहित अन्यलाई उपमहासचिव र गुरुङलाई आफूपछिको ठूलो हैसियतमा राखेका थिए ।









































