गोविन्द पोख्रेल, अर्घाखाँची
एउटा कहालीलाग्दो परिवेशमा हामी परिवर्तनको खाका कोर्दै थियौ । विक्रम सम्बत २०४५ सालको कुरा हो ।
विधार्थी जीवन त्यसमा पनि थपिएको थियो, बाबा लाहुरे तर म आमा विहिन टुहुरो । न त मलाई परिवर्तनका लागि शिक्षा दिन सक्ने बाबा म सँग हुनुहुन्थ्यो ! न मलाई यस धर्तिमा पैदा गर्ने मेरो आमा ?
कहालीलाग्दो मेरो जीवन यात्रामा म जति शायद समय अनुसार कोहि थिएन होला, सर्वहारा ।
थाह छ किन ?
९ वर्षको उमेरमै जब आमा स्वर्गे हुनु भो, अपांग हजुर आमाको हेरचाह न भैदिएको भए त्यतिबेलाका हुनेखाने कोही प्रधानपञ्च वा उप–प्रधानपञ्चको घरमा गाईबस्तु चराउने गोठालोको रुपमा उनीहरुको घरको रखवाली गरेर बस्नुपर्ने बाध्यताको म मान्छे, म जति कोहि सर्वहारा थियो होला र ?
कल्पना गर्नोस, म जस्तो समय सापेक्ष सर्वहारा वर्गको नेतृत्व गर्दै चरम वामपन्थि विचारको हिमायती हुनुपर्ने मानिस पुजिवादी वर्गमा सामेल हुनु कतिसम्म तर्क संगत कुरा थियो होला ? २०४६ को परिवर्तनपछि कम्युनिष्टहरुले भिराईदिएको म पुजिवादी मान्छे । उनीहरु वर्ग संघर्षको कुरा गर्थे, म विपिको प्रजातान्त्रिक समाजवादको विषयमा जानी नजानी वकालत गर्थे र भन्थे म जति सर्वहारा हुन सिक अनि वर्ग के हो ? मन्थन गरौला । के को उनीहरु २० को १९ मा आउदैनथे । तर मलाइ घोचिरहन्थे पुजिवादी भनेर ।
बाध्यता थियो, मैले पुजिवादीको बिल्ला भिरिरहे । तर अब भने फालिदिए त्यो ।
कहिले थाह छ ?
जब कम्युनिष्टहरुको दुइतिहाईको सरकार बन्यो नि म पुजिवादीको बिल्ला जति सबै कम्युनिष्टहरुलाई भिराउन सफल भएको महशुस गरे अनि मैले मेरो पुजिवादी बिल्ला फ्याकिदिन सफल भएको छु ।
फेरिपनी म काँग्रेस नै भएर उभिए । २०४६ सालमा प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन भयो । आफ्नो क्षमता अनुसार हामी अग्रसर भयौ । आ–आफ्नो ठाउमा रहेर प्रजातन्त्र प्राप्तिको लडाई हामीले लड्यौ ।
सम्झना छ, गाउमा आफुलाई यो आन्दोलनमा सरिक बनाउने आदरणीय ब्यक्तिहरुको मलाई । रेश्मीराज घिमिरे, मुकुन्द अर्थात खेमराज घिमिरे र बलराम घिमिरेहरुको । उनीहरुकै वाल पेन्टिङ्ग पञ्चायत कालीन कालरात्रीको संघारमा प्रतिबन्धित नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पोख्रेललाई सभापति पदमा अत्यधिक बहुमतले विजयी गराऔं ।
२०४६ सालमा आदरणीय रेश्मीराज अंकलले बनाएका काला झण्डा मेरा आदरणीय खिमा दाई, युवराजजी, ध्रुब दाई र भाई झबिलाल लगायतले प्रपञ्चको घरको धुरीमा र पञ्चे मै हु भन्ने आदरणीय गाउका भलाद्मी बा को घर धुरीमा मात्रै हैन वहाँहरुको घरबाट विहानै देखिने मन्दिरको गजुरमा काला झण्डाहरु फहराउने चेष्टा गर्ने म सर्वहारा नै थिए । त्यति मात्रै कहाँ हो र ? विचरा झेस्केका आदरणीय टोपलालज्यु, रेश्मीराजले जे भनेपनि मान्ने । त्यो झेस्केको बतासे डाडो पोरीको बासको रुख मठारेर कालो झण्डा फहराउदै गर्दा बुढा धन्न कड्केपाटातिर हुत्तिएनन्, सम्झन्छु म, तर मेरा आदरणीय अग्रजहरुले कत्तिको सम्झनुहुन्छ ? म भने बेलीविस्तार गर्न सक्दिन ।
यी काला झण्डाको बिगबिगीसंगै रेश्मीराज लगायत हामी सबै एरेष्ट वारेन्टमा घेरिएका थियौ । प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आदेश जारी गर्नुपनि एकातिर तर अर्कोतिर उता सबै पञ्चहरु पञ्चे र्याली मनाउन हाम्रो गाउका विशेष पञ्चे बाजा जुन बाजा गाजा सहित पोखरामा गएको कारण रेश्मीराज बा सहित हामी आधा दर्जन पञ्चायत विरोधीहरु पक्राउ पर्नबाट बचेका थियौ ।
हामीलाई पक्रन पुलिस खटाइएको समाचार आएको पनि हो । तर हामी विचलित न भै एकमत भएर पञ्चायत विरोधी अभियानमा लाग्यौ । म सर्वहाराकै रुपमा अघि बढे तर काँग्रेसमै रहेर । मलाई कम्युनिष्ट बनाउने कैयन चेष्टा गरियो, तर पुजिवादीकै बिल्ला भिर्न सहमत भए, विपि विचारसँग कहिल्यै विचलित भने हुदै भैन, अघि बडिरहे संगठनमा पाएका जिम्मेवारी पुरा गर्दै गए । एउटा असल प्रशिक्षकको रुपमा समेत खरो उत्रदै गए । राजनैतिक यात्रामा सफल हुदै अघि बढीरहेको छु ।
तर काँग्रेस हो भनेपछि मलाई जबरजस्ति पुजिवादीको बिल्ला भिराईयो, म भने नितान्त सर्वहारा भन्दा माथी उठेको थिईन, र छैन पनि ।
लामो समयपछि अ.खाँ. जिल्लाबाट प्रदेश प्रतिनिधिको आकांक्षी बने, शायद मेरो भुल थियो होला ।









































