दिल्ली, 8 जुलाई 2022
गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । अंतराष्ट्रीय संचार माध्यमका अनुसार सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको हो । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो भने तत्काल एम्बुलेन्समा हालेर लगिएको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचार प्रसारका क्रममा भाषण गरिरहेका थिए । आबे अस्पताल पुर्याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए । आबेलाई गोली हान्ने 42 वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे 67 वर्षका थिए । उनले सन् 2006 देखि 2007 र सन् 2012 देखि 2020 सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।