काठमाडौं, 3 अक्टुबर 2021
६६ औ प्रहरी दिवस २०७८ को अवसरमा नेपाल प्रहरीले यात्रु सहायता कक्षमा तपाईको मास्क खोई ? अभियान सुरु गरेको छ । आइतबार काठमाडौंको गौशालामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो अभियानको सुरु गर्नुभएको हो । अभियान अन्तर्गत चाडवाडका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालन गरेको यात्रु सहायता कक्षबाट मास्क बितरण गरिने बताइएको छ । चाडपर्वका बेलमा यात्रुको चाप बढि हुने र कोरोना संक्रमणको जोखिम हुने भएकाले यात्रु सहायता कक्षबाटै मास्क बितरण गर्नका लागि अभियान नै सुरु गरिएको महाशाखाले जनाएको छ । अभियानको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाका कारण नेपाल पनि निकै प्रभावित भएको र अझै पनि कोरोना जोखिम कायमै रहेकाले प्रहरीले अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँले बिगतमा ८ लाख भन्दा बढि माक्स बितरण गरिएको र अझै पनि मास्क बितरण गरिने बताउनुभयो । यस्तै ट्राफिक महाशाखका प्रमुख एसएसपी जनक भट्टराईले जनचेतनामुलक कार्यक्रमका साथै मास्क अभियान सुरु गरिएको बताउनुभयो । उहाँले चाडवाडका अवसरमा कोरोना जोखिम बढ्ने भएकाले यात्रुहरुको सुरक्षाका लागि ट्राफिक प्रहरीले समन्वयनकारी भूमिका खेल्ने उल्लेख गर्नुभयो । महाशाखाले काठमाडौंको गौशाला लगाएत सुन्धारा, सातदोवाटो, कोटेश्वर, माछापोखरी र कलंकीबाट पनि अभियान सुरु गरेको छ ।









































