काठमाडौं, 24 अप्रैल 2023
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उक्त कुरा बताए। सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले बताए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको खतिवडाले जानकारी दिए । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको सांसद खतिवडाले बताए ।









































