झापा, ७ फरवरी, २०२०
झापामा मादकपदार्थ सेवन गरी साथीको हत्या गर्ने दुई जना पक्राउ परेका छन् ।
गत सोमबार झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मादक पदार्थ सेवन गरी साथीको हत्या गर्ने करण चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरुले मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भारतको अररिया– ४९ वर्षीय हसन मोहल्ला घर भई १० वर्षदेखि उक्त क्षेत्रमा बस्दै आएका ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरेका प्रहरी कोइरालले बताए ।
विवादको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको बताइएको छ । मदिराको नसा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको कोइरालाले बताए ।
हत्यापछि शेखको शवलाई राजवंशीको खेतमा लगी संवेदनशील अंग काटी उक्त खेतमा रहेको परालमा आगो लगाएर जलाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । कोइरालाले भने, ‘आमाको नाम जोडेर गालीगलौज गरेकाले त्यसपछि उनीहरूले शेखको संवेदनशील अङ्ग काटेर फालेका रहेछन् ।’









































