काठमाण्डौ, 26 जुन 2021
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको भन्दै निर्वाचनका लागि तयार हुन आग्रह गर्नुभएको छ ।शनिवार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले अब ताजा जनादेशको विकल्प नरहेको बताउदै उहाँले निर्वाचनका लागि तयार हुन आग्रह गर्नुभएको हो ।
राजनितिक दलहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्दै उहाँले संविधान निर्माणपछि मुलुकको एउटा मात्र लक्ष्य विकास र समृद्धि भए पनि देशमा अनपेक्षित परिदृश्य देखा परेको बताउनुभयो । उहाँले आउँदो निर्वाचनले देशको विकास, समृद्धि र स्थायित्व दिने भन्छदै निर्वाचनमा जान दलहरू नडराउन आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनसम्म सबै नेपालीलाई निःशुल्क कोरोनाको खोप उपलब्ध गराएर माक्स विना मतदान गर्ने वातावरण सरकारले मिलाउने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसकेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो । मन्त्री पौडेलले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका कामहरु धमाधम गरेको दावी पनि गर्नुभयो ।









































