काठमाण्डौ, 10 नोवेम्बर 2020
यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन। कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ। तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन् । मानिसहरुको भिड-भाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरुको भनाई छ । तिहार भन्ने बित्तिकै सम्झना आउने भनेका झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु भने निराश भएका छन । सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मनिस विक्रम शाह कोरोनाका कारण व्यापारीहरुलाई मारमा पारेको बताउनुभयो । तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उहाँले बताउनुभयो । धेरै व्यवसायीहरु विस्थापित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गरिदिनुपर्ने उहाँले बताउनुभयो ।
अर्का व्यापारी भक्ति प्रसाद भट्टराई पनि बजारमा झिलिमिल बित्ती किन्नेहरुको भिडभाड विगत जस्तो नभएको बताउनुभयो
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्ष भन्दा ४० प्रतिशत कम मात्रै बत्तीहरु आयात भएका छन। कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहज रुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाई छ । माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकोमा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएका हुन।









































