Northeast Super News शुक्रबार २९ मई २०२०
तेञ्जिङ्ग नोर्गे शेर्पाद्वारा सगरमाथ विजय गरेको आज 77 वर्ष पुग्यो । शेर्पाले सन् 1953 सालमा सगरमाथ विजय गर्नु भएको अमेट इतिहास बनेको छ । सगरमाथको चुचुरोमा पहिलो पटक पुग्ने मानव तेञ्जिङ्ग नोर्गे शेर्पा हुनुहुन्थ्यो जो एडमन्ड हिलेरीको साथमा हुनुहुन्थ्यो । यसै सन्दर्भमा सांसद राजु विष्टले तेञ्जिङ्ग नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्नद्वारा सम्मानित गरिनु पर्छ भन्ने माग प्रेस विज्ञप्तिको माध्यमबाट गर्नु भएको छ । प्रस्तुत छ यो रिपोर्ट ।
दार्जीलिङ कालेबुङका सांसद राजु विष्टले भनेका छन्, हाम्रो देशको सन्दर्भमा 29 मईलाई ऐतिहासिक बनाउने व्यक्तित्व नै वीर तेञ्जिङ्ग नोर्गे शेर्पा थिए । त्यसरी शेर्पाले मानिसमा हुने लगनशीलता अनि दृढ़ताको परिचय दिएका थिए । उनको असाधारण पराक्रमको कदर गर्दै त्यही वर्ष जर्ज मेडल, स्पेशल ओलम्पिक मेडलद्वारा सम्मानित गरिएको थियो । क्रमशः 1999 मा उनलाई टाइम्स पत्रिकाले संसारका सबैभन्दा प्रभावशाली मनिसहरूमध्ये उनी एक हुन् भनी घोषणा गरेको थियो । भारतले उनलाई पद्मभूषणद्वारा सम्मानित गरेको छ । सर्वोच्च सम्मान भारत रत्न पाउने सबै योग्यताहरू उनीसित छन् । तर अहिलेसम्म त्यो दिइएको छैन । त्यसै क्रममा सांसद राजु विष्टले भनेका छन्, अब शेर्पालाई सर्वोच्च सम्मान भारत रत्नद्वारा विभूषित गरियोस् भनी म सरकारलाई विनम्र अनुरोध गर्दछु । यो अनुरोध सांसद राजु विष्टले एक प्रेस विज्ञप्तिको माध्यमबाट गरेका छन् ।









































