काठमाडौं, 21 मार्च 2022
युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ । क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुने बताइएको छ । सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्ने नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले जानकारी दिनुभयो । सम्मेलनको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।









































