काठमाडौं, 1 दिसम्बर 2022
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताको लागि नेतृत्वबीच वृद्धभत्ता छिटोछिटो दिने प्रतिस्पर्धा हुने गरेको भन्दै आलोचना गरेका छन्।
बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने भन्दै आलोचना गरेका हुन्।
‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ। प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौं भनेको छ। म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा एक वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु? कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो,’ उनले भने।
उनले पछिल्लो समय स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको बताए।
‘हामीले भाष्य नै गलत बनाएका छौं। माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ,’ उनले भने, ‘स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ। कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ। हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौं,’ उनले भने।
उनले नयाँ प्रधानमन्त्रीले आगामी एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै निर्णय लिनुपर्ने बताए।









































