नयाँ दिल्ली, 21 अगस्त
भारतमा पनि हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज मनाइएको छ । शुक्रवार दिल्ली एनसीआर लगायत भारतका विभिन्न शहरहरुमा तीज मनाइएको छ । दिल्ली नजिक गुरुग्राममा सुदूरपश्चिम सम्पर्क समिति हरियाणा राज्यको आयोजनामा कोभिड-19 महामारीलाई ध्यानमा राख्दै वृहत तीज कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष नरेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेजस उत्तर भारत समितिकी अध्यक्ष सुनिता जीसी कुँवर प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो भने विमला विष्ट विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।


कार्यक्रममा सिमित संख्यामा नेपाली दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कयौं कलाकारहरुले प्रस्तुती दिएका थिए भने उपस्थित दिहीबहिनीहरुले नाँचेर रमाएका थिए । कार्यक्रममा उपस्थित कलाकारहरुलाई प्रमाण पत्रले सम्मानित गरिएको थियो । भारतमा हरेक वर्ष तीजको अवसरमा भव्यता साथ विशेष कार्यक्रम गरिने भए पनि यो वर्ष कोरोना महामारीका कारण दिल्ली लगायतका स्थानमा कुनै भन्य कार्यक्रम गरिएन । तर घर घरमै सामान्य कार्यक्रम गरेको कयौं भिडीयोहरु सामाजिक संजालमा देखिएको थियो ।









































