दिल्लीको जामिया नगर इलाकामा काठको बक्सामा नेपाली नाबालिग भाइ – बहिनीको शव बरामद
दिल्ली, 7 जुन 2023 | दिल्लीको जामिया नगर इलाकाबाट नेपाली मूलका दुई नाबालिग भाइ, बहिनीको शव फेला परेपछि इलाकामा हड्कंप मच्चिएको छ। नेशनल लाईभ टिभीलाई राप्रपा प्रवास संगठनका नेता बम चन्द ठकुरीले दिएको जानकारी अनुसार मंगलबार साँझ दक्षिण पूर्व दिल्लीको जामिया नगर क्षेत्रको कारखानामा राखिएको काठको बक्समा भाइ बहिनीको शव फेला परेको थियो।

दुवै बाल-बालिका दिउँसो तीन बजे खाना खाएर घरबाट खेल्नका लागि निस्के पश्चात बेपत्ता भएका थिए । लामो समयसम्म नफर्केपछि बाबु आमाले उनको खोजी सुरु गरेका थिए । धेरै खोजबीन पश्चात दुवै दाजु र बहिनी काठको बक्समा थुनिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनीहरुको पहिचान 8 वर्षीय नीरज र 6 वर्षीया आरती रहेको छ । जिल्लाका डीसीपीले प्रारम्भिक अनुसन्धानमा बाल-बालिकाको शरीरमा चोटपटकको निशान नभेटिएको बताए ।

दुवै बालकको पोष्टमार्टम रिपोर्ट र अनुसन्धानका लागि घटनास्थल पुगेको एफएसएल र अपराध अनुसन्धान टोलीको रिपोर्ट आएपछि यस विषयमा थप कारबाही गरिने छ ।
बल बहादुर सार्कि उर्फ बलबीर नेपालका स्थायी बासिन्दा हुन् । उनी नेपाल जिल्ला अछाम मेल्लेख गाउँपालिका जाब्ला र हाल दिल्लीको ओखलामा मुगल आर्ट फर्निचर कम्पनीमा सुरक्षाकर्मीको काम गर्दै आएका छन्। बलवीर आफ्नी श्रीमती र छोराछोरीसँग त्यहाँ बस्छन्।









































