नयाँ दिल्ली, 14 मार्च 2020
दिल्लीमा एक जनाको ज्यान गएपछि भारतमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या 2 पुगेको छ । राजधानी दिल्लीको राम मनोहर लोहिया अस्पतालमा उपचारार्थ कोरोना संक्रमित ६८ वर्षकी महिलाको हिजो ज्यान गएको हो । यसअघि गएको मंगलबार भारतमा काेराेना संक्रमणबाट ज्यान गएको पहिलो घटना प्रकाशमा आएको थियो । कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको मंलतबार ज्यान गएको थियो ।
हिजो ज्यान गुमाउने महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको बताइएको छ । ज्यान गुमाएकी महिलामा उनको छोराबाट कोरोना सरेको अनुमान छ । गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका महिलाका छोरामा कोरोना पुष्टि भएको थियो । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । यसैबीच भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । मार्च १५ अर्थात भोलिदेखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।









































