नयाँ दिल्ली, 6 जनवरी 2020
गुरुङ समुदायले गए मंगलबार च्यु–ल्हो (मुसा) वर्गलाई स्वागत गरेर मंगलबार तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने आईतवार मनाएका छन । गुरुङ सेवा समिति र आमा समूहले एक भव्य कार्यक्रमको आयोजना गरि फो (मृग) वर्गलाई बिदाइ गरी च्यु–ल्हो (मुसा) वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाएको हो। गुरुङ सेवा समितिका अध्यक्ष दलबहादूर गुरुङले अध्यक्षता गरेको कार्यक्रममा नेपाली राजदूतावासका साँस्कृतिक काउन्सलर होमप्रसाद लुईंटेल प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । समारोहमा व्यवसायी कंचन गुरुङ र कलाकार बालकाशी गुरुङ विशेष अतिथिका रुपमा उपस्थित रहनुभएको थियो । गुरुङ समूदायको भाषा-भेषभूषा र संस्कृतिको संरक्षण गर्न गठीत गुरुङ सेवा समितिले हरेक वर्ष समूदायका मानिसहरुलाई भेला गरि वृहत रुपमा ल्होसार मनाउने गर्दछ । समारोहमा बोल्दै समितिका सल्लाहकार खुम गुरुङले गत मंगलबार आफुहरुले च्यु ल्होसार पर्वको स्वागत गरेपनि व्यस्तताका कारण दिल्लीमा आइतबार कार्यक्रम गरिएको बताउनुभयो ।

त्यसैगरि समितिका उपाध्यक्ष गोपी राज गुरुङले समितिले गुरुङ समाजलाई संगठीत गरेर समाजको उत्थानको काम गरिरहेको र संस्कृतिलाई जोगाई राखेको बताउनुभयो ।
समारोहमा बोल्दै नेपाली दूतावासका सांस्कृतिक काउन्सलर होमप्रसाद लुईंटेलले गुरुङ समाजले आफ्नो संस्कृति जोगाउनका लागि गरिरहेको कामले सिंगो नेपालको शिर ठाडो भएको बताउनुभयो । प्रवासमा आफ्नो व्यस्तताका बावजूद समय निकालेर आफ्नो समाजका लागि भेला भएका मानिसहरुको प्रंशसा गर्दै लुईंटेलले नेपाली राजदूतावासका तर्फबाट गुरुङ समूदायलाई ल्होसारको शुभकामना पनि व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष दलबहादूर गुरुङले उपस्थित मानिसहरुलाई कार्यक्रममा स्वागत गर्दै सबैलाई तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा बोल्ने अधिकांश वक्ताहरुले संस्कृतिको रक्षा गर्नका लागि घरमा आ-आफ्ना छोराछोरीलाई भाषा-भेषभूषा र रहन सहन सिकाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । आमा समूहका नृत्यकारसहित विभिन्न उमेर समूहका नृत्यकारहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ। १२ वटा पशुपन्छीको नाममा १२ वर्षको एउटा ‘ल्हो’ को वर्गचक्र हुन्छ। यही ल्होअनुसार प्रत्येक वर्ष पुस १५ का दिनमा ल्हो ‘वर्ग’ फेरिन्छ। यस वर्ग चक्रअनुसार वर्ग फेरिने दिनलाई नयाँ वर्ष मान्ने गरिन्छ। गुरुङहरूको ल्होसार अर्थात् वर्ग चक्रमा समावेश रहेको पशुपन्छीहरूमा घोडा ‘त’, भेडा ‘ल्हु’, बाँदर ‘प्र’ चरा ‘च्ह्या’, कुकुर ‘खि’, मृग ‘फो’, मुसा ‘च्यु’ गाई ‘ल्वों’ बाघ ‘तो’, बिरालो ‘ह्वीं’, सर्प ‘सप्ह्री’ गरुड ‘मुप्ह्री’ रहेका छन्।
विशेषगरी गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा तमु ल्होसार मनाउने गरिन्छ। यसबाहेक विश्वभर छरिएर रहेका गुरुङ समाजले पनि तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन । तमु ल्होसार गुरुङ जातिले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आ–आफ्नो तिथिअनुसार मनाउने गर्छन्।









































