काठमाडौं, 15 जुलाई 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो नयाँदिल्ली आएका छन् । शुक्रबार दिउँसो उनी नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित उनी नयाँदिल्ली ओर्लिएका हुन् । स्वकीय सचिव मल्लका अनुसार दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । त्यस्तै दाहालको स्वागतमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपाली राजदूतावासका अधिकारी तथा भारत सरकारका उच्च अधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो ।अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा आएका हुन् ।









































