नयाँ दिल्ली, 8 जनवरी 2020
भारतको राजधानी दिल्लीमा नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन गरिएको छ । मंगलवार साँझ दिल्लीको होटल ली मेरीडिएनमा एक समारोहकाबीच भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भ्रमण वर्षको उद्घाटन गर्नुभयो । समारोहमा भारतका उच्च पदस्थ अधिकारी, कूटनैतिक नियोगका प्रतिनिधिहरु, टुर तथा ट्राभल व्यवसायी, प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै राजदूत निलाम्बर आचार्यले नेपालका भारतीय मित्रहरुलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिनुभयो । नेपालको पर्यटन विकासमा भारतको भूमिका रहेको टिप्पणी गर्दै राजदूत आचार्यले नेपालको विविधता, संस्कृति र विश्व सम्पदाहरुको अवलोकन गर्न नेपाल जान आह्वान गर्नुभयो । भ्रमण वर्ष मनाउनुको कारण देशको अर्थव्यवस्थालाई बढावा दिन नेपाललाई पर्यटन क्षेत्रको रुपमा विकसित गर्नुका साथै नेपालको सम्बन्ध भारत र अन्य मूलुकहरुसँग मजबुत गर्नु रहेको बताउनु भयो । उहाँले यस वर्ष 20 लाख पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको र अभियान एक दशकसम्म चल्ने पनि बताउनुभयो । नेपालमा गत 1 जनवरीमा औपचारिक रुपमा भ्रमण वर्षको शुभारम्भ गरेको र त्यसमा ठूलो संख्यामा भारतीय मित्रहरु पुगेकोमा खुशी व्यक्त गर्दै भारतका पर्यटन राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रह्लाद सिंह पटेलले भ्रमणपछि नेपालका प्रमुख पर्यटकीयस्थलहरुका तस्वीर ट्वीट गरेकोमा आभार व्यक्त गर्नुभयो ।

समारोहमा बोल्दै भारतको पर्यटन मन्त्रालयकी पर्यटन महानिर्देशक मिनाक्षी शर्माले पर्यटनमन्त्री प्रह्लाद सिंह पटेलका तर्फबाट नेपालमा गरेको स्वागतका लागि आभार प्रकट गर्दै उहाँले नेपालको अनुभवको प्रशंसा गरेको र हामी सबैले नेपालको भ्रमण गर्नुपर्ने बताउनु भयो । नेपाल भ्रमणको यस्तो अवसर सृजना गरेको र आफुहरुका लागी नेपाललाई पहिलो पर्यटन गन्तव्य बनाएकोमा पनि आभार व्यक्त गर्नुभयो ।

समारोहमा नेपाली संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो । 20 लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गत जनवरी 1 मा काठमाण्डौको दशरथ रंगशालाबाट ‘नेपाल भ्रमण वर्ष 2020’ अभियानको औपचारिक रुपमा शुरुवात गरिएक थियो। सो समारोहमा भारतका पर्यटनमन्त्री प्रह्लाद सिंह पटेल पनि सहभागि हुनु भएको थियो। राजदूतावासले मंगलवार भ्रमण वर्ष 2020 को शुरुवात गरेपनि भारतमा लामो समयदेखि यसको प्रचार-प्रसार शुरु भइसकेको छ ।









































