नयाँ दिल्ली, 17 मार्च, खुम गुरुङ
पीडाका बेला कसैको थोरै सहयोग पनि ठूलो लाग्दछ । यस्तै भएको छ, अहिले दिल्लीमा सडक दुर्घटनामा परि ज्यान गुमाएका नैना गुरुङको परिवारलाई ।
गुरुङ सेवा समिति दिल्लीले दुर्घटनामा परि ज्यान गुमाएका नैना गुरुङको परिवारलाई 11 हजार आर्थिक सहयोग गरेको छ । परिवारिक सदस्य गुमाएको शोक संतप्त परिवारलाई सो रकमले खाशै फरक नपर्ने भए पनि परदेशमा गुरुङ सेवा समितिले गरेको भावनात्मक सहयोग भने निकै ठूलो लागेको छ ।

जानकारीका अनुसार जेएनयु परिसरमा बस्ने गुरुङ सेला समितिका पूर्व सदस्य नैना गुरुङलाई गत 23 फरवरी 2020 का दिन ड्युटी जाने क्रममा विहान साढे 5 बजे अज्ञात वाहनले ठक्कर हानेको थियो । घटनापछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिए पनि चोट धेरै लागेकाले त्यसको 2 दिनपछि उनको अस्पतालमा मृत्यु भएको थियो । नेपालबाट भर्खरै फर्किएका नैना गुरुङ एक नीजि कम्पनिमा काम गर्दै आएका थिए । दुर्घटना कसले गरेको हो भन्ने बारे अहिले केही थाहा नभएपनि पुलिस अनुसन्धान जारी रहेको छ ।

गुरुङ सेवा समिति दिल्लीमा ठूलो संख्यामा गुरुङ समूदाय जोडिएको छ । समितिले भारतमा समस्यामा पर्ने नेपालीहरुलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ । केही समय पहिला पनि समितिले विरामी भएकी हुमबहादुर गुरुङकी पत्नी सिता गुरुङलाई 6 हजार आर्थिक सहयोग गरेको थियो ।










































