काठमाडौं, 6 दिसम्बर 2022
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेता शशांक कोइरालालाई संसदीय दलको निर्वाचनमा सघाउन सहयोग मागेका छन्। चुनाव जितेर काठमाडौं फर्किएका कोइराला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र नेता कोइरालाबीच भेटवार्ता भएको हो। भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो । ‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’ भेटमा देउवाले कोइरालालाई भनेको उदृत गर्दै सचिवालयले भन्यो । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।









































