काठमाडौं, 20 जनवरी 2023
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले एक देशसँग नजिक हुन अर्को देशसँगको सम्बन्धमा कृत्रिम रुपमा तनाव बढाएको बताए ।
‘छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,’ ओलीले भने । ओलीले कुन देशकाविरुद्ध देउवाले त्यसो गरेको हो भन्ने उल्लेख गरिकनै नयाँ सरकारले त्यसलाई ठिक गर्ने बताए । छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।
‘हामी एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर होइन । हामीले सन्तुलित, विश्वसनीय होइन । भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास, त्यस प्रकारको होइन, भरपर्दो, विश्वसनीय, जो भनिन्छ त्यो गर्ने होइन । एउटा हित र अर्काको अहित गर्ने होइन, छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन,’ ओलीले भने ‘हामी छिमेकीहरुका लागि असल छिमेकी हुन चाहान्छौँ उनीहरुको कुभलो गर्दैनौं, विल्कुलै कुभलो नगरिकन उनीहरुको भलो चिताएर उनीलाई सहयोग पुर्याएर, उनीहरुको जायज चासो चिन्ता सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हामी अघि जान्छौं ।’
नेपालको भूमि कसैकोविरुद्वमा प्रयोग हुन नदिने प्रतिवद्वता व्यक्त गर्दै अध्यक्ष ओलीले कसैको पनि सैन्य अड्डा बस्न नदिने बताए । ‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने । कसैको पनि राख्यो भने हाम्रो लागि अहितकर हुन्छ हाम्रो सार्वभौम सत्तामाथिको अतिक्रमण हुन्छ ।
नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुकुल बाह्य सम्बन्ध अगाडि बढाउने उनले बताए ।









































