काठमाण्डौ, 7 नोवेम्बर 2020
देशदर्शन बससेवा प्रालिले कोभिड-१९ को बढ्दो सङ्क्रमणका बीचपनि आजबाट पर्यटक बससेवा सुरु गरेको छ। देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आज (शनिबार) देखि सेवा सूचारु गरेको हो। देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सूचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताउनु भएको छ । देशका मुख्य-मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो। काठमाडौं-पोखरा, काठमाडौं-जनकपुर, काठमाडौं-विरगञ्ज, काठमाडौं-लुम्बिनी, काठमाडौं-चितवन, र चितवन-पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गर्नुभयो । उहाँले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताउनुभयो ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देशदर्शनले शुभारम्भको एक साता सम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ।