काठमाडौं, 22 नवम्बर 2021
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर समेत माओवादीलाई ‘अपराजय शक्ति’का रूपमा स्वीकारिएको दावी गर्नुभएको छ । भरतपुर महानगरपालिकाले सोमबार चितवनमा आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले देशमा राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको समेत बताउनुभयो । उहाँले ८÷१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताउनुभयो । उहाँले नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने जिकिर गर्नुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको धारणा राख्नुभयो । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आवश्यक सहयोगका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो ।









































