काठमाडौं, 17 सितंबर 2022
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताएका छन् । शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै ओलीले देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए ।
‘देशलाई गठबन्धनले ओरालोतिर लगिरहेको छ । ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने, राजनीतिक हिसावले, लोकतन्त्रको अभ्यासको हिसाबले संविधान कार्यान्वयनको हिसावले, शान्ति सुव्यवस्थाको हिसावले, भ्रष्टाचार नियन्त्रणको हिसावले, सुशासनको हिसावले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढंगले अघि बढ्नेछौँ ।’
उनले भने, ‘प्रभावकारी ढंगले अघि बढ्नेछौँ । यसको फैसलाका लागि संघीय संसद्को प्रतिनिधि सभाको निर्वाचन र प्रदेशहरूको, सातै प्रदेशको निर्वाचन भइरहेको छ । यतिबेला देशलाई हार्न दिनुहुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ । लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गर्दछु ।’ उनले संविधान दिवस सरकारी नभएर राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने बताउँदै एमालेले पदयात्राको सुरुवात गरेको बताए । अध्यक्ष ओलीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पदयात्रामा सहभागीहरुले नेपाली राष्ट्रिय झण्डा बोकेर सहभागी भएका थिए ।









































