29 अक्तूबर 2021
मंसीर ४ गते आयोजना हुने पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । आयोजक क्रिएटिभ ह्यान्डसका अध्यक्षले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिएका हुन् । अध्यक्षले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा हमालको उपस्थितिले अझ हौसला थपिने बताए । बुधबार महानायक हमाललाई म्याराथनमा उपस्थित भइदिन निमन्त्रणा दिएको थियो । हमालले कुनै आनाकानी नगरी निमन्त्रणा स्वीकार गरिदिएकोमा पनि आयोजक टिमलाई हौसला दिइएको छ ।
आयोजक क्रिएटिभ ह्यान्डसका अध्यक्षले भने, ‘राजेश हमाल भनेको हरेक नेपालीको ढुकढुकीमा बसेका कलाकार हुन् । उनको व्यक्तित्व, शालीनता, भलादमीपनमा जो सुकै पनि आकर्षित नै छन् । उनी जस्तो कलाकार प्रतियोगितामा ल्याएमा यसले युवा पुस्तालाई पनि खेलमा आकर्षण गरिने, स्थानीयबासीलाई हौसला प्रदान गर्ने विश्वासमै राजेश हमाललाई प्रतियोगितामा जोडिएको हो ।’
नेपालगञ्ज म्याराथनमा यसपाली दशवटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कुल बोय, ३ किलोमिटर स्कुल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्विलचियर प्रतियोगिता रहेका छन् । यसपटकको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् । नेपालगञ्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ । नेपालगञ्जको वीपीचोकबाट शुरू भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगञ्ज शहरको पहिचान बढाएको छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात वर्षअघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो । विश्व मानचित्रमा लामो दौड अर्थात् म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेसा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । यो सहकार्यमा एउटा इट्टा थप्न महानायक आउँदै हुनुहुन्छ ।









































