काठमाडौं, 17 मई 2023
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका छन्।प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा सम्बोधन गर्दै बुधबार महामन्त्री थापाले यस्तो बताए। उनले दोषी सबैलाई कारबाही हुनुपर्ने बताएका छन्।
उनले भने, ‘यो राजद्रोह, राष्ट्रविरुद्धको अपराधमा अनुसन्धान जरासम्म पुग्नुपर्छ। जो जो मुछिन्छ, सबैलाई कारबाही हुनुपर्छ। यसमा दायाँबायाँ, इफ बट केही पनि छैन’ ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनले आरोपित व्यक्ति स्वाभाविक रुपमा निलम्बनमा पर्नुपर्ने बताए। कांग्रेसभित्र खाणलाई निलम्बन गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुई थरी धारणा छ। थापाले वाम पार्टीहरु कुनै पनि बेला मिल्न सक्ने सम्भावना रहेको बताए। पछिल्लो समय लोकरिझ्याइँको राजनीति नेपाली संस्करणमा आएको उनको भनाइ छ। थापाले लोकरिझ्याइँको राजनीति, वामहरु एक ठाउँ हुने सम्भावना र दक्षिणपन्थी ध्रुवीकरणको सम्भावनाका बीचबाट कांग्रेस आफू पनि जोगिएर, देशलाई पनि जोगाएर, आफ्नो समर्थन पनि कायम राखेर अगाडि जानुपर्ने बेला रहेको समेत बताएका छन्।









































