काठमाडौं, 15 जून 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अघि बढ्न लोक सेवा आयोगलाई सुझाव दिनुभएको छ । आयोगको ७२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढाउन सुझाव दिनुभएको हो । उहाले आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गर्नुभयो । उहाँले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिनुभयो ।









































