नयाँ दिल्ली, २५ जनवरी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी इमरान खान काठमाडौं आयोजना हुन लागेको सगरमाथा संवाद फोरममा आमने सामने हुने सम्भावना देखिएको छ ।
त्यस दुई देशका प्रधानमन्त्री एकैपटक सहभागी हुने अवसर जुट्ने सम्भावना देखिएको हो ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे अन्र्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराउने आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता पठाइसकिएको बताएका छन् । यद्यपि, नयाँदिल्लीले त्यसको जवाफ फर्काइनसकेको बताए । यस कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि आमन्त्रित गरिएको छ ।
नेपालमा पहिलोपटक हुन लागेको विश्वस्तरको उक्त संवादबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्षको समेत प्रवद्र्धनात्मक प्रचार गर्ने उद्देश्यले सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतका वरिष्ठ पत्रकारहरूको टोलीलाई सगरमाथा संवाद कार्यक्रमको आयोजना, औचित्य, सहभागितालगायत विषयबारे जानकारी गराइएको छ ।
नेपालले आयोजना गर्न लागेको यो सम्मेलनमा पछिल्ला वर्ष निकै गहिरो द्वन्द्वमा फसेका भारत र पाकिस्तानका सरकार प्रमुख आमन्ने सामन्ने हुनसक्ने सम्भावना रहेको र यो भेट दक्षिण एसियाको राजनीतिक र कुटनीतिक मञ्चमा निकै अर्थपूर्ण रहेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले टिप्पणी गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायत सबै सार्क देशका नेताहरुलाई आमन्त्रित गरिएको जानकारी दिएका छन् । यदि नेपालको निमन्त्रणलाई स्वीकार गरेर भारत र पाकिस्तानका प्रधानमन्त्री सो कार्यक्रममा सहभागी भए उनीहरु दुवैजनाको भेट हुने निश्चितप्रायः छ ।
पर्वतीय मुलुकहरू र सामुद्रिक टापुका मुलुकमा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आइरहेका, उच्च अवस्थितिका कारणले हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ मन्त्री ज्ञवालीले सुनाए ।
परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ भने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायत सम्बन्धित क्षेत्रका विषयका जानकार सम्मिलित १३ सदस्यीय सगरमाथा विशेषज्ञ कार्यदल गठन भई त्यसले काम गरिरहेको छ ।
सगरमाथा संवाद आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुनेछ । भारत र पाकिस्तानबीच एक वर्षयता काश्मिर लगायतका विषयमा द्वन्द्व बढिरहेको छ । यी दुई देशबीचको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको पाकिस्तानमा हुने भनिएको सम्मेलन समेत रोकिएको थियो ।









































