काठमाडौं, ५ फरवरी, २०२०
नागढुङ्गाबाट प्रहरीले झण्डै २२ लाख रुपैयाँको मोबाइलसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएको खुलेको छ ।
काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।
नागढुङ्गामा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।
बसपार्कमा सुटकेस लिन आएका उनलाई मंगलबार पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य २१ लाख ७३ हजार ५०० छ ।









































