नयाँ दिल्ली, 2 मार्च
निर्भया सामूहिक बलात्कार एवं हत्याका चारै दोषीहरूलाई भोली बिहान दिने भनिएको फाँसी फेरी टरेको छ । फाँसी दिने दिन एक दिन मात्र बाँकी रहेका बेला दिल्लीको पटियाला हाउस कोर्टका न्यायाधीश धर्मेन्द्र राणाले सोमवार निर्भया सामूहिक बलात्कार र हत्याका चारै दोषीहरूलाई मृत्युदण्डको सजायमा अर्को आदेश नदिँदा रोक लगाउनु भएको हो। अदालतले दोषी पवन कुमार गुप्ताको क्षमा याचिका राष्ट्रपति समक्ष बाँकी रहेसम्म फाँसी दिन नमिल्ने भनेको हो । सोमवारमा नै सुप्रीम कोर्टले सुधारात्मक याचिका (क्यूरेटिव पिटीशन) खारेज गरेपछि पवनले राष्ट्रपति समक्ष क्षमा याचिका दायर गरेको हो। केन्द्रीय गृह मन्त्रालयले यसको पुष्टि गरेको हो। अब मन्त्रालय सो याचिका राष्ट्रपति रामनाथ कोविन्द समक्ष पठाउनेछ । दक्षिण दिल्लीमा 16 दिसम्बर 2012 मा चल्दै गरेको बसमा छात्रा निर्भयाको सामूहिक बलात्कारपछि क्रुरतापूर्वक आक्रमण भएको थियो । सोही वर्ष निर्भयाको सिंगापुरको माउंट एलिजाबेथ अस्पतालमा मृत्यु भएको थियो ।









































