जलेश्वर, 7 नवम्बर 2022
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताएका हुन् । अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलार्ई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको बताए ।
उनले भने, “ जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ । त्यसैले गठबन्धन लोसपाको बाध्यता हो”। सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका थिए ।









































